वीरगंज । अशाेक राई नेतृत्वकाे जनता समाजवादी पार्टी (जसपा) वीरगंज महानगरपालिकाका उपाध्यक्ष लखन लाल गुप्ता र वीरगंज–१० वडा इकाई अध्यक्ष जोगिन्द्र प्रसाद साह कानुले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
दुबै जनाले व्यक्तिगत कारण र पारिवारिक व्यस्तताको कारण देखाउँदै पार्टीको साधारण सदस्यबाटसमेत अलग हुने घोषणा गरेका हुन् ।
लखन गुप्ता विगत १७ वर्षदेखि जसपाको विचार, नीति र सिद्धान्तप्रति समर्पित रही सक्रिय राजनीतिमा संलग्न थिए । उनले पार्टीका विभिन्न आन्दोलन, संघर्ष र कार्यक्रमहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आएका थिए । पछिल्लो समय व्यक्तिगत कारणले पार्टी गतिविधिमा पूर्ण रूपमा संलग्न हुन नसकेको भन्दै उनले राजीनामा दिएका हुन् ।
राजीनामा पत्रमा गुप्ताले लेखेका छन्, “विगत केही समयदेखि म आफ्नो निजी जिम्मेवारी र पारिवारिक व्यस्तताका कारण पार्टीको कार्य र जिम्मेवारी पूरा गर्न असमर्थ महसुस गरिरहेको छु । त्यसैले म आजैको मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा पेश गर्दछु ।”
यसैगरी, वीरगंज महानगरपालिकाकाे वडा नं. १० का इकाई अध्यक्ष जोगिन्द्र साह कानुले पनि समान कारण उल्लेख गर्दै राजीनामा दिएका छन् । दुबै नेताले आफ्नो राजीनामा पत्र पार्टीको केन्द्रीय कार्य समिति, मधेश प्रदेश समिति, जिल्ला समिति र नगर समितिलाई बोधार्थ पठाएका छन् ।
खानेपानी मन्त्री प्रदिप यादव निकटका दुबै जनाकाे एकैपटकको राजीनामाले उनलाई समेत असर पर्ने देखिएकाे छ ।