बाराको कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा गरिएको छ। नगरपालिका अन्तर्गतका २७ वटै वडामा आवश्यक सम्पूर्ण खोप उपलब्ध गराइएको पुष्टि भएसँगै सोमबार आयोजित एक विशेष समारोहमा यस घोषणाको औपचारिकता गरिएको हो।
कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहका अनुसार, जन्मेदेखि ११ महिनासम्मका २,९१६ जना, १ वर्षदेखि २३ महिनासम्मका २,८२७ जना तथा १५ महिनादेखि २३ महिनासम्मका १,८५६ जना बालबालिकालाई सम्पूर्ण खोप लगाइसकिएको छ। स्वास्थ्य शाखाका प्रमुख अजय जयसवालले यी सबै बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप दिइएको जानकारी दिए।
पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुअघि जिल्ला खोप समन्वय समिति र पालिका खोप समन्वय समितिले आवश्यक अनुगमन गरी मापदण्डहरू पूरा भएको प्रमाणित गरेका थिए। वडा खोप समन्वय समितिहरूको सक्रियताले घोषणाको आधार तयार गरिएको हो।
स्वास्थ्य सेवा विभाग तथा परिवार कल्याण महाशाखाले तोकेको मापदण्ड अनुसार पालिकालाई ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषणा गर्न सकिने व्यवस्था छ।
घोषणा समारोहमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यता रहेको थियो। उपमेयर रौशन प्रविण, स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव, डा. सुरेन्द्र साह, डा. बद्री दास, विभिन्न वडाका अध्यक्षहरू तथा सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति थियो।