वीरगंज । नयाँ लुगा किनिदिने प्रलोभन पारी नाबालिकालाई यौनधन्दामा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवाकी २४ वर्षीया आलिया खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।
आलियाले नगवाकै विपन्न परिवारकी अन्दाजी १४ वर्षीया एक नाबालिकालाई नयाँ लुगा किन्दिने र पैसापनि दिने प्रलोभन दिएर बैशाख २१ गते सीमावर्ती रक्सौल बजारमा लगेकी थिइन् । त्यहाँ आलियाले ती बालिकालाई विभिन्न लजमा ७ दिनसम्म राखेर यौनधन्दामा लगाएकी थिइन् ।
ती बालिकाका अभिभावकले छोरी घरबाट सम्पर्कविहिन भएपछि खोजतलाशका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछि खोजतलाशमा खटिएको प्रहरीले आलिया र ती बालिका दुवै जना आलियाको घरमा रहेको सूचना पाएको थियो । ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले नगवास्थित आलियाको घरमा पुगेर छापा मारेर ती बालिकाको उद्धार गर्नुका साथै आलियालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
प्रहरीसँगको बयानका क्रममा पिडित बालिकाले आफुलाई आलियाले झुक्याएर रक्सौल बजारमा लगेको र त्यहाँका विभिन्न लजमा लगेर पुरुष ग्राहकसँग पैसा लिएर आफुलाई यौनधन्दामा लगाएको बताएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए ।
मिश्रका अनुसार, अनुसन्धानका क्रममा पक्राउ परेकी आलियाले यसभन्दा पहिला पनि बालिका र किशोरीलाई विभिन्न प्रलोभन दिएर यौनधन्दामा लगाउने गरेको खुलेको छ ।
प्रहरी हिरासतमा रहेकी आलियाविरुद्ध मानव वेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए ।