वीरगंज । “बिहे त भयो, तर बिदाइ भएन” यिनै कुराले सुरु भएको झगडा अन्ततः कर्तव्य ज्यानको घटनासम्म पुग्यो, जसका एक फरार अभियुक्त ३ वर्षपछि पर्साबाट पक्राउ परेका छन् ।
विवाहको खुसीको माहोल एकाएक दुःखद घटनामा परिणत भएको थियो जब वि.सं. २०७६ साल वैशाख ४ गते पोखरिया नगरपालिका–६ श्रीसिया निवासी धर्मेन्द्र प्रसाद चौहान र पोखरिया–५ सतवरियाकी निषा कुमारी चौहानबीच परम्पराअनुसार विवाह भए पनि वधू पक्षले वेहुली बिदाइ गर्न मानेनन् । यही सामान्य देखिने कुरा पछि ठूलो मनमुटाव र अन्ततः झगडामा रूपान्तरण भयो ।
तीन वर्षअघिको त्यो झगडा वि.सं. २०७९ साल वैशाख ९ गते पोखरिया–४ स्थित बाल उद्यान अंग्रेजी बोर्डिङ स्कूलको प्राङ्गणमा भयो, जहाँ दुवै पक्षका आफन्तबीच भनाभनबाट हात हालाहालसम्म पुग्दा धर्मेन्द्रका पिता शंकर प्रसाद महतो चाई गम्भीर घाइते भए । टाउकोमा लागेको चोटकै कारण उनलाई काठमाडौँको गंगालाल अस्पताल लगिएको थियो, जहाँ असार ११ गते उनको मृत्यु भयो ।
घटनापछि कर्तव्य ज्यान अभियोगमा संलग्न रहेका मध्ये फरार अभियुक्त सिकेन्द्र प्रसाद चौहानलाई प्रहरीले पर्सा–५ सतवरियाबाट वैशाख २२ गते पक्राउ गरेको हो । उनीमाथि पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।