वीरगंज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विकास निर्माणका काममा कुनै पनि सम्झौता नगर्न र जनताका चाहना अनुसार सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।
पर्साको पकाहाँमैनपुर गाउँपालिका वडा नं ४ धोबीया टोलमा आयोजित शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले विकास निर्माणका काममा गरिएको लापरबाही आफूलाई स्वीकार्य नहुने बताए ।
न्यून दरमा बोलपत्र आह्वान गर्ने र विकास निर्माणमा लापरबाही गर्ने, गुणस्तरमा ध्यान नदिने र आफूखुसी योजना छनोट गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारको सबै संयन्त्र परिचालन भइसकेको उनले बताए ।
विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता पनि आवश्यक हुने मन्त्री गुप्ताले बताए । ‘विकास निर्माण कार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ । सँधै जनताको काममा एकताबद्ध भएर लाग्छौँ’ उनले भने ।