वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले स्थानीय खुद्रा व्यवसायीहरूलाई भोगिरहेका समस्या समाधानमा सहयोग गर्न ‘हटलाइन सेवा’ सुरु गर्ने भएको छ । संघले कानूनी दायराभित्र रही व्यवसाय गर्न व्यवसायीहरूलाई आग्रह गर्दै, संघ सधैं उनीहरूको साथमा रहने प्रतिबद्धता जनाएको हो ।
वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजित प्रत्यक्ष अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष हरि गौतमले खुद्रा व्यवसायीका समस्या साझा चिन्ता भएको उल्लेख गर्दै, “तपाईंहरूको कारण म अध्यक्ष बनेको हुँ, अब हामीबीचको सहकार्यले वीरगंजको व्यवसायिक वातावरण सुदृढ हुनेछ,” भने ।
कार्यक्रममा संघले एक हप्ताभित्रै निःशुल्क टेलिफोन सेवा (हटलाइन) सुरु गर्ने निर्णय लिएको जानकारी गराइएको छ । यसले व्यवसायीहरूले आफ्ना गुनासो संघसम्म प्रत्यक्ष रूपमा पु¥याउन सक्ने संघका अध्यक्ष गौतमको विश्वास छ ।
छलफलमा सहभागी व्यवसायीहरूले भारतबाट सामान ल्याउँदा भन्सार तथा प्रहरी प्रशासनसँग भोग्नुपर्ने समस्या र राज्यबाट अपेक्षित सुरक्षा तथा सम्मान नपाएको गुनासो गरे । व्यापारी रामप्रित तिवारीले कर तिरेपनि सम्मान नपाएको बताए भने कुन्दन रौनियारले खुला सिमानाका कारण उत्पन्न समस्याप्रति संघ र स्थानीय निकाय गम्भीर नदेखिएको आरोप लगाए ।
कार्यक्रमका प्रमुख अतिथि तथा संघका पूर्वअध्यक्ष गोपाल केडियाले व्यापारिक गतिविधिको नियमित अनुगमन गर्न प्रतिनिधि खटाउने र मासिक रूपमा खुद्रा व्यवसायीसँग बैठक राखी समस्या पहिचान र समाधानमा सघाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, महासचिव शिवजी कलवार, सहकोषाध्यक्ष निरज अग्रवाल, सचिव प्रेमचन्द्र गोयल लगायतका पदाधिकारी तथा खुद्रा व्यवसायीहरूको उपस्थिति रहेको थियो ।