वीरगंज । भूमिहीन दलित र सुकुम्बासी समुदायको हकहितका लागि पर्साका दलित संगठनहरुले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई ज्ञापन पत्र बुझाइएका छन् । भीम आर्मी नेपाल, दलित महिला संघ पर्सा, चमार कल्याण समाज पर्सा, डोम समाज कल्याण संघ पर्सा, दलित सञ्जाल पर्साले सयुँक्त रुपमा महानगर प्रमुख सिंहलाई ज्ञापन पत्र बुझाएका हुन् ।
न्यायोचित र पारदर्शी ढंगमा भूमि वितरण प्रक्रिया अघि बढाउन ज्ञापन पत्रमार्फत माग गरिएको छ । दलित अगुवा बृजलाल पासवान, भिम आर्मी नेपालका केन्द्रीय संयोजक सुनिल राम, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम, संघकी कोषाध्यक्ष एवम् वीरगंज ३ की सदस्य संगीता दास, राष्ट्रिय दलित पत्रकार संघ नेपाल मधेश प्रदेशका सचिव सूर्यनारायण वि.क., चमार कल्याण समाजका अध्यक्ष जादोलाल राम लगायतले ज्ञापन पत्र बुझाएका हुन् ।
द्यलित भूमिहीनहरूको समस्या दीर्घकालीन समाधानका लागि भूमि आयोगमार्फत निष्पक्ष, समावेशी र व्यवहारिक प्रक्रिया सुनिश्चित गर्न स्थानीय सरकारलाई सचेत गराइएको दलित पत्रकार संघ पर्साका सल्लाहकार समेत रहेका पासवानले बताए ।
ज्ञापनपत्रमा दलित र सुकुम्बासी समुदायका लागि नीति निर्माण, कार्यक्रम कार्यान्वयन र स्थानीय तहसँगको समन्वयमा सुधार ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पनि ज्ञापन पत्र बुझ्दै यथाशीघ्र कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।