वीरगंज । राैतहटकाे माैलापुर नगरपालिकाकाे मेयरमा पुन: रिना साह निर्वाचित भएकी छन् । मधेश प्रदेशको प्रथम एवम् एक मात्र महिला मेयरको रुपमा जनपक्षीय काम गरेर चर्चामा रहेकी साहले दोस्रो पटक निर्वाचित हुँदा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् ।
नेकपा एमालेकी उम्मेदवारको रुपमा साहले ५ हजार ५ सय ६४ मत हासिल गरेकी थिइन भने उनको निकटम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार राम प्रवेश यादवले ३ हजार ६२ मत हासिल गरेका छन् । साहले यादवलाई २ हजार ५ सय २ मतले पराजित गरेकी हुन् ।
शुक्रबार जिल्लाकाे सदरमुकाम गौरमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनियताको सपथ लिएसंगै मेयर साह पतौरास्थित नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरेकि हुन् । मेयर साहले पहिलो निर्णयको रुपमा सोनरनियामा दलित बस्तीको निर्माणको लागि जग्गा खरिद प्रक्रिया अगाडी बढ़ाउने निर्णय गरिन् ।
पहिलो कार्यकालमा मौलापुर र मर्यादपुरमा उनले निर्माण गरेको नमुना दलित वस्ती नेपालकै नमुनाको रुपमा चर्चा पाएको थियो ।
गत निर्वाचनमा १ सय ३६ वटा स्थानीय तह रहेको मधेश प्रदेशमा एक मात्र महिला मेयरको रुपमा निर्वाचित भएकी थिइन् । आफ्नो पहिलो कार्यकालमा उत्कृष्ट कार्य गरेर चर्चामा रहेकी साहले नगरवासीको भरपुर साथ पाएको छ । पाँच दलीय गठबन्धनका राजनीतिक खेलाडीहरुलाई धुल चटाउदै मधेशी समुदायको महिला मेयरको रुपमा निर्वाचित भएर साहले पुन: एक पटक किर्तिमान कायम गरेकी हुन् ।
मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका हुन् । मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी, एउटा नेकपा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवारले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।
वडा नं. १ काे वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जयनाथ प्रसाद कुशवाहा, २ मा एमालेका भगवान राउत कुर्मी, ३ मा एमाले कै महेश महताे काेइरी, ४ मा एमाले कै थिर बहादुर प्रसाद, ५ मा एमाले कै चन्द्रशेखर प्रसाद साह, ६ मा नेकपा एसका इश्वर दयाल प्रसाद यादव, ७ मा एमाले कै रामपुकार साह, ८ मा स्वतन्त्र शिउ पप्रश्न प्रसाद यादव र ९ मा एमाले कै श्याम किशाेर साह निर्वाचित भएका छन् ।
दाेस्राे पटक मेयरमा निर्वाचित साह एमालेका प्रभावशाली नेता प्रभु साहकाे श्रीमती हुन् । याे पालिकाे निर्वाचनमा निर्वतमान जनप्रतिनिधिहरु बहुत कम मात्रामा निर्वाचित भइरहेकाे बेलामा उनी आीफ्नाे नगरपालिकामा दाेस्राे पटक पनि पूर्ण बहुमतसहित श्रीमतीलाई जिताउन सफल भएका छन् ।