वीरगंज । पर्साको छिपहरमाइ गाउँपालिकाको अध्यक्षमा पुन: मनोज कुमार गुप्ता विजयी भएका छन् । शुक्रबार बिहान सकिएको मगणनाको अन्तिम परिणाम अनुसार गाँउपालिका अध्यक्षमा एमालेका उम्मेदवार एंव निवर्तमान अध्यक्ष मनाेज कुमार गुप्ता विजयी भएका हुन् । पर्साकाे एक मात्र पालिका अध्यक्षमा गुप्ता पुन: दाेस्राे कार्यकालकाे लागि विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार इन्द्रासन साह कलवारलाई ३२० मत अन्तरले हराउँदै एमालेका गुप्ता पुन: अध्यक्षमा निर्वाचित भएका हुन् । गुप्ताले ४ हजार १८८ मत पाउँदा कलवारले भने ३८६८ मत पाएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नवीन सिंह भने ३ हजार ५२८ मत पाएर तेश्रो स्थानमा रहे ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार राजिव कुमार जयसवाल १७६ मत मात्र पाएका छन् ।
यसअघि २०७४ को निर्वाचनमा गुप्ता नेकपा माओवादी केन्द्रको उम्मेदवार बनेर २ हजार ८५१ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचत भएका थिए । गुप्ता एमालेका पर्सा जिल्ला सचिव पनि हुन् ।
यस्तै छिपहरमाई गाँउपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार लीलावती देवी कानु निर्वाचित भएकी छन् । लीलावती देवी ३ हजार ८०१ मतका साथ निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार मोदीना खातुनले भने ३ हजार ५९० मत पाएकी छन् ।
जसपाकी उपाध्यक्षका उम्मेदवार रेहाना खातुन ३ हजार ४९४ मत र माओवादी केन्द्रकी सुमन गुप्ता ४८० मत पाएका छन् ।