वीरगंज । स्थानीय तहको निर्वाचन अन्तर्गत मौन अवधी शुरु भएसँगै पर्सामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । पर्सामा १ सय ६७ मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । ती मध्ये सुरक्षाको दृष्टिकोणले संवेदनशील र अति संवेदनशील केहि मतदानस्थल र मतदान केन्द्रको सुची बनाएर सुरक्षकर्मीको कडा निगरानी राखि रहेकाे छ ।
मतदान स्थल सुरक्षाकाे लागि पहिलो चरणमा नेपाल प्रहरी, दोस्रो चरणमा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम चरणमा नेपाली सेनाको टोली पचिालन गरिएको छ । म्यादि प्रहरीसहित २७ सय जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।
नेपाल नम्बर १४ गुल्म हेडक्वा पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेज प्रकाश पोखरेलका अनुसार सिमा क्षेत्र र मतदान केन्द्रहरुमा ८ सय जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमा नाको सुरक्षा व्यवस्थाका लागि भारतीय एसएसबी ४७ र ४४ का कमाण्डरसँग पनि समन्वय गरिएको सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले बताए ।
मंगलवार मध्यरातदेखि शुरु भएको मौन अवधिलाई मध्यनजर गर्दै सीमा नाकामा पनि आवागमन बन्द गरेर सीमा शिल गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।
नेपाली परिचय पत्र भएका नागरिकलाई भारतबाट नेपाल प्रवेश गर्न दिइएको छ भने नेपालबाट जान भने पूर्ण रुपमा रोक लगाइपनि अतिआवश्यक कार्यका लागि प्रशासनको सिफारिसका आधारमा आवागमन खुला गरिने ढकालले बताए ।
जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले पर्साका मतदानस्थल र मतदान केन्द्रहरुलाई सुरक्षा संवेदनशीलताका दृष्टिकोणले ३ तहमा वर्गीकरण गरिएको बताइन् ।
पर्खाल वा पक्की संरचनाको घेरा नभएका मतदानस्थल र मतदान केन्द्रहरुलाई अति संवेदनशीलमा राखिएको उनले बताइन् । झाले भनिन्, ‘संवेदनशील मतदानस्थलहरुको विवरण स्थानीय प्रशासनसँग छ, हामीले भन्न मिल्दैन ।
पर्सा जिल्लामा बैशाख ३० को पालिका निर्वाचनका लागि १ सय ६७ मतदानस्थल र ४ सय ४ वटा मतदान केन्द्र निर्धारण गरिएको प्रमुख झाले वताइन ।
जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार, वीरगंज महानगरपालिकामा सबैभन्दा बढी मतदान स्थल र मतदान केन्द्र राखिएका छन् । महानगरमा ५५ वटा मतदानस्थल र १ सय ४३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकामा ६ वटा मतदानस्थल र १५ वटा मतदान केन्द्र तोकिएको छ ।
भारतसँग सीमा जोडिएका, भूगोलको विकटता र यातायातको असुविधा भएका पालिकाका मतदान स्थल र मतदान केन्द्रहरुलाई संवेदनशील मतदान स्थलको सूचीमा स्थानीय प्रशासनले राखेको हो ।
यसैगरी बारामा ३ सय ३ मतदान स्थल र ५ सय ४१ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सराेज कुमार चाैधरीले वताए । ती मध्ये सिम्रौनगढ र पचरौता नगरपालिकामा राखिएका मतदानस्थल र मतदान केन्द्रहरुलाई अति संवेदनशील मानिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
क्लैया उपमहानगरपालिका, विश्रामपुर गाँउपालिका, फेटा गाँउपालिका, देवताल गाँउपालिका, सुवर्ण गाँउपालिकामा रहेका मतदानस्थल र मतदान केन्द्रलाइ भने संवेदनशील मानिएको छ ।
पर्सामा मङगलवारदेखि मदिराको बिक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाइएको छ । बैशाख ३० को पालिका निर्वाचनलाइ लक्षित गरि स्थानीय प्रशासनले बैशाख २७ गते (मङगलवार ) देखि मतदानको दिन बैशाख ३० को मध्यराति १२ बजे सम्मका लागि मदिराको बिक्री वितरण, ओसारपसार र सेवनमा प्रतिबन्ध लगाएकाे हो ।