वीरगंज । पर्साका प्रमुख राजनीतिक दलहरूले संयुक्त रूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेका छन् । नेपाली कांग्रेसको रानिघाटस्थित पार्टी कार्यालयमा पार्टीका कार्यबाहक सभापति राम नारायण कुर्मीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले यस्ताे निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तका अनुसार, गणतन्त्र दिवसको दिन साँझ ६:३० बजे माइस्थान मन्दिर अगाडि दीप प्रज्वलन गरी दिवस मनाइने छ । उनले पछिल्लो समय गणतन्त्रप्रति भइरहेको निरन्तर प्रहारको सन्दर्भमा संयुक्त कार्यक्रमको आयोजना हुँदै गर्दा आम जनमानसमा गणतन्त्रप्रति एक्यवद्धता र सकारात्मक सन्देश झनै बढ्ने अपेक्षा व्यक्त गरे ।
नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बाल गोपाल थापाले केही नेताहरू र राजनीतिक दलहरूप्रति आम जनतामा असन्तुष्टि देखिए पनि गणतान्त्रिक व्यवस्थाप्रति आम नेपाली जनताको गहिरो विश्वास रहेको बताए ।
नेकपा एमाले पर्साका सचिव महेश दासका अनुसार, उक्त दीप प्रज्वलन कार्यक्रममा पर्साका आम जनताको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ ।