वीरगंज । वीरगंजमा दुई फरक घटनामा नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार हाल वीरगंज महानगरपालिका वडा नं.१५ निवासी २५ वर्षीय मनिष पासवान र पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं.६ संठी निवासी २३ वर्षीय विशाल यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार, पहिलो घटना मिति २०८१ साल मंसिर २५ गते बिहान १० बजे घटेको हो । १४ वर्षीया नाबालिका घरबाट खाना खाएर बजार गएकी घर नफर्किएपछि खोजतलास गर्दा मनिष पासवानले विवाहको झुठो प्रलोभन देखाइ भारत लगेर पटक–पटक करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
पासवानले मिति २०८२ साल जेठ ११ गते पीडितलाई वीरगंजमा छाडेको बताइएको छ । उनलाई करणीसम्बन्धी कसूरमा सात दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै, दोस्रो घटना मिति २०८२ साल जेठ ८ गते दिउँसो २ बजे घटेको हो । कक्षा ८ मा अध्ययनरत १३ वर्षीया नाबालिकालाई विद्यालयबाट घर फर्किने क्रममा विशाल यादवले प्रेम गर्छु भन्ने झुठो प्रलोभन देखाइ वीरगंज महानगरपालिका वडा नं.१५ भिष्वास्थित आफ्नै कोठामा लगेर पटक–पटक करणी गरेको उजुरी परेको छ । यादवलाई नियन्त्रणमा लिई करणीसम्बन्धी कसूरमा छ दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता लम्सालले घटनाबारे जानकारी दिँदै, दुवै घटनामा पीडितका परिवारबाट उजुरी परेपछि अनुसन्धान अघि बढाइएको र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने वताए ।