
भारतमा मोदी सरकारबिरुद्ध किसानले एक दिनको लागी देशव्यापी रुपमा बन्दको आह्वान गरेका छन् । भाजपाको मोदी नेतृत्व सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरुले आज (मंगलबार) लागि भारत बन्द गर्ने घोषणा गरेका हुन ।
किसानहरुको आन्दोलनमा १८ वटा विपक्षी पार्टीले पनि सहयोग गरेका छन् । आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन् ।
किसानले दिल्लीलगायत देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेका छन् भने विगत १२ दिनदेखी पन्जाब र हरियाणका किसान आन्दोलनमा छन् ।
बिहानदेखी साँझसम्म बन्द गर्ने र दिउँसो ३ बजेसम्म चक्काजाम गरिने किसान बलबिर सिंहले बताएका छन् । उनले भने,‘‘आज दूध–तरकारी शब्जी आपूर्ति रोक्न आह्वान गरिएको छ तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह रोकिने छैन ।
सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ । तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन। सरकारले न्यूनतम समर्थन मूल्यप्रति किसानको आशंका गलत रहेको दाबी गर्दै कानुनमा केही परिवर्तन गर्न तयार रहेको संकेत दिएको छ तर किसान भने तीनवटै कृषि कानुन रद्द नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।
सरकारसँग किसानको अर्काे बार्ता फेरी भोली बुधबार हुनेछ । बीबीसी