
वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाकाे २ जनामा कोरोना संक्रमण फेला परेकाे छ । श्री दीपनारायण आर्दश माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १८ बर्षिय पुरुष र ६० बर्षिय महिलामा संक्रमण फेला परेकाे गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले जानकारी दिए ।
नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार बिहान दुबै जनामा रिपाेर्ट पाेजेटिभ आएकाे अध्यक्ष जयसवालले वताए । याेसंगै पर्सामा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।
संक्रमित मिहला वडा नं. १ रेज औंराहा निवासी र वडा नं. २ गुलवरिया निवासी पुरुष रहेकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले जनाए ।
संक्रमित पुरुष जेठ १० गते भारतकाे उपीबाट र महिला जेठ १२ गते भारतकाे मुम्बईबाट घर आएका थिए । गाउँपालिकाले भारतबाट फर्किएका पुरुषलाई साेही दिन र महिलालाई एक दिन पछि क्वारेन्टाइनमा राखेकाे थियाे ।
जेठ १४ मा क्वारेन्टाइनमा रहेका ५० जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको मध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएको संयाेजक राैनियारले वताए ।
संक्रमित दुबै जनालाई वीरगंजस्थित नारायणी काेराेना बिशेष अस्पताल गण्डकमा पठाउने लागिएकाे उनले वताए ।
उनले भने “संक्रमितलाई गण्डक अस्पतालकाे आइशाेलेसनमा पठाउन लागेका छाैं, तर एमबुलेन्स नपाएर ढिलाे भएकाे छ । कुनै पनि एमबुलेन्स चालकले संक्रमितलाई वीरगंज पुर्याउन नमानेर समस्या भएकाे छ ।”
यस अघि पनि सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. १ सिद्धपुरकाे एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।