20 March 2025
KALIKATIMES.COM

सञ्चारकर्मीसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही प्रक्रिया सुरु

वीरगञ्ज । वीरगञ्जबाट सञ्चालित यात्राडेली डटकममा कार्यरत सञ्चारकर्मी आशु कुमार सर्राफसँग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सुजय कुमार सिंहमाथि कारबाहीको प्रक्रिया सुरु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले असई सिंहलाई तत्काल हेडक्वार्टर तानेर कारबाही अघि बढाएको हो । घटनाले प्रेस स्वतन्त्रता र सशस्त्र प्रहरीको आचरणमाथि गम्भीर प्रश्न उठाएको छ ।

सिंहले सर्राफसँग अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनाल नेतृत्वको टोलीले एसपी धितालसँग सम्पर्क गरी दोषीमाथि कडा कारबाहीको माग राखेका थिए । 

खनालले भने, “यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो आक्रमण हो । सञ्चारकर्मीमाथि यस्तो व्यवहार गर्ने जोसुकैलाई पनि कडा सजाय हुनुपर्छ ।” खनालसँगै अन्य सञ्चारकर्मीले पनि सर्राफमाथि भएको अभद्र व्यवहारको मुद्दालाई जोडदार रूपमा उठाएका छन् ।

घटना के हो ?

मङ्गलवार साँझ सञ्चारकर्मी सर्राफ वीरगञ्जको भन्सार क्षेत्रस्थित प्रस्तावित सीमा सुरक्षा गुल्म अगाडि नियमित सवारी चेकजाँचको दृश्य खिचिरहेका थिए । त्यही बेला ड्युटीमा खटिएका असई सिंहले उनलाई भिडियो खिच्नबाट रोक्न खोजे । सर्राफले आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्नुपर्ने भन्दै भिडियो खिच्न जारी राखेपछि स्थिति तनावपूर्ण बन्यो ।

सिंहले सर्राफमाथि चरेस तस्करीको झुटो आरोप लगाउँदै अभद्र व्यवहार गरे । “तँ महिना खान्छस्” भन्दै उनले सञ्चारकर्मीको पेसागत इमानदारीमाथि नै आक्रमण गरे । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सञ्चारकर्मी र सर्वसाधारणबिच आक्रोश फैलियो ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धितालले घटनालाई गम्भीरतापूर्वक लिएको बताए । उनले असई सिंहलाई तत्काल हेडक्वार्टर तानिएको र उनको स्पष्टीकरण मागिएको जानकारी दिए । “स्पष्टीकरणपछि थप कारबाही प्रक्रिया अघि बढाइनेछ,” एसपी धितालले भने, “हाम्रो सङ्गठनमा यस्तो व्यवहार स्वीकार्य छैन ।”

असई सिंहको विवादास्पद इतिहास

सुजय कुमार सिंह पहिलेदेखि नै विवादको घेरामा रहँदै आएका छन् । यसअघि पर्साको लहावरथकरीस्थित प्रस्तावित सीमा सुरक्षा गुल्ममा कार्यरत रहँदा उनले दिनदहाडै घुस लिइरहेको भिडियो सार्वजनिक भएको थियो । उक्त घटनापछि उनलाई कारबाही गरिएको थियो, तर उनको व्यवहारमा सुधार आएन । यस्तै, केही दिनअघि मात्र भन्सार नजिकैको मदिरा भट्टीमा तस्कर पवनसँग बसेर ‘सेटिङ’ गरेको खबर पनि बाहिरिएको थियो । यस्ता घटनाले उनको कार्यशैली र नैतिकतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचनकाे मतगणना जारी, राज कुमार यादव अगाडी

कालिका टाईम्स
SQL requests:215. Generation time:4.514 sec. Memory consumption:82.4 mb