वीरगंज । साविक विजेता नेपाल पुलिस क्लब दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा आयोजक वीरगंज युनाईटेड क्लबलाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको हो ।
आर्दशनगर रंगशालामा जारी खेलमा खेलको निर्धारित समयमा दुबै टिम बिना गोल बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि दुबै टिमको स्कोर बराबरी भएपछि खेल सडेन डेथमा प्रवेश गरेको थियो । टाईब्रेकरमा पुलिसका लागी उज्जवल राई, रामचन्द्र वाजी, संजीव लामा, अमित टामाटा, विवेक पाण्डेले हानेका थिए । जसमा राईले पोल बाहिर र लामाले हानेको बल किपरले रोकेका थिए ।
त्यसपछि सडेनडेथमा पुलिसका शिशिर चौधरी, निरज खड्का, प्रज्जवल चौधरी र सुनिल तामाङ्गले गोल गरेका थिए । टाईब्रेकरमा वीरगंज आशा गुरुङ्ग, सनतबहादुर गुरुङ्ग, सिशस थापा, बल्टोर र कृपाकान्त चौधरीले हानेका थिए । जसमा सन्तबहादुरले हानेको बल किपरले रोके भने बल्टोरले हानेको बल पोलमा लडेको थियो ।
त्यसपश्चात सडेनडेथमा वीरगंज अजित चौधरी, ब्रिकम ठाकुर, प्रमजय चौधरी र विवेक चौधरीले हानेका थिए । जसमा विवेकले पोष्ट बाहिर हानेको हुन । खेलमा म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका गोलकिपर अमित टामाटा घोषित भएका थिए ।
उनले नगद १० हजार र शिल्ड पनि पाएका थिए ।
बिहिबार हुने दोस्रो सेमिफाईनल खेलमा मच्छिन्द्र फुटबल क्लब र सहलेस फुटबल क्लब सिरहा भिड्ने छन । मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगंज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ ।