KALIKATIMES.COM

वैदेशिक रोजगारीबाट फर्केका संदिप बने एक सफल युवा उद्यमी

आनन्द पटेल /
परवानीपुर । ‘वर्षौं देखिको सपना थियो कि एक दिन आफ्नै गाउँमा आफ्नो व्यवसाय होस्, आफ्नै देशमा केहि गर्न सकूँ, आफ्नै परिवारसँगै बसेर खुशीको दिन होस् या दु:खको दिन बाँच्न सकूँ र आज यो सपना पुरा हुँदा निकै खुशी लागेको छ ।‘ यो सुन्दर सपनालाई देख्नेर देखेको सपनालाई पुरा गर्ने आँट बाराको प्रसौनी गाउँपालीका वडा नं १ प्रसौनी टोल बस्ने २७ वर्षिया यूवा संदिप साह तेलीले गरेका हुन् । संदिप आजकल आफ्नो नयाँ व्य्वासयाले चर्चामा छन् । उनले आफ्नै टोलमा नयाँ उद्योग ‘साह बेकरी उद्योग’ संचालन गरेर आफ्नो टोल मात्र नभई जिल्लामै चर्चामा आएका छन् ।

यति कम उमेरमा नै आफ्नै ठाउँमा व्यवस्थित रुपमा बेकरी उद्योग खोल्नु र त्यसलाई चलाउनु आफैमा एउटा ठूलो साहस भएको स्थानीय सुनिल साह तेली बताउछन् । संदिपको यो साहसले यहाँका यूवाहरुमा आशा फैलाएको छ । उनी धेरैको लागि अहिले प्रसौनीमा एउटा सुन्दर प्रेरणा बनेका छन् । अझ तिनीहरुका लागि जो यो देशमा केहि गर्न सकिंदैन, देशमा केहि गर्ने माहोल नै छैन भनेर निराश छन् ।

उनको यो उद्योगमा बेकरी सम्बन्धि सबै प्रकारका बेकरी आईटमहरु उत्पादन हुन्छ जस्तै पाउरोटी, केक, बर्फी, सेल आदि । उनी यो व्यवसायले निकै खुःशी छन् । किनकी यसले उनको वर्षौ देखिको आफ्नो गाउँठाउँमै केहि गर्ने सपना जो साकार बनाएको छ । उनको यो सपना साकार गर्न उनी मात्र होइन उनको परिवारको पनि ठूलो सहयोग छ । उनको यो व्यवसायले उनको मात्र होइन उनको परिवारकै सपना पुरा भएको छ । संदिपको यो व्यवसायले अहिले प्रसौनी टोलमा युवा उद्यमीको रुपमा एउटा नयाँ विकासको आधार पाएको छ ।

प्रसौनी गाउँपालीका वडा नं १ प्रसौनी बजार बस्ने स्थानीय राजेन्द्र साह तेलीको तीन जना छोरा मध्ये जेठो छोरा संदिप १८ वर्षको उमेरमा वि.सं. २०७१ साल जेष्ठ महिनामा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगे । मलेसिया स्थित गाडेनिया बेक्रीज कम्पनीमा  सुरुमा उनले बेकरी उत्पादन हुने प्रोडक्सन कम्पनीमा काम पाए । काम पाईसकेपछि उनले दायाँबायाँ केही नसोची आफ्नो काममा ध्यान दिँदै लगनशीलताका साथ काम गर्न थाले । उनले एक दिन पनि आफ्नो डिउटीमा लापरवाही गरेनन् र उनको त्यहि कडा मिहिनेत र लगनशीलतालाई देखेर कम्पनीले करिब नौ महिना काम गरिसकेपछि उनलाई सेक्सन ईनर्चाजको जीम्मेवारी दियो । त्यसपछि उनले सात वर्षसम्म पछाडि र्फकेर हेरेनन् । तीन सालको लागि वैदेशिक रोजगारीमा गएका उनी पैसा र आफ्नो परिवारको सुखद भविष्यका लागि त्यही कम्पनीमा समय अवधी थप गरेर ७ वर्षसम्म काम गरे । ‘गएको केहि समयमै प्रगति भएको भए पनि वैदेशिक यात्रा मेरो लागि त्यति सजिलो भएन ।‘ उनी आफ्नो वैदेशिक यात्रा सम्झदै टोलाउछन्  ।  उनी भन्छन् ‘यो सात वर्षमा मेरो जीवनमा धेरै उतार चढावहरु आए । यो सात वर्ष धेरै दु:खमा बित्यो ।‘

आर्थिक अवस्था कमजोर भएको परिवारमा जन्मिएका उनी परिवारको जेठो छोरा भएकोले प्राय: सबै जिम्मेवारी उनमा थियो । उनी सानै उमेरदेखि पढाईमा निकै रुची राख्थे । उनी स्कुलमा राम्रो अंक ल्याउने विद्यार्थीमा पर्दथे । उनको पढाईलाई देखेर छिमकीहरु पनि उनको तारिफ गर्दथे । ठूलो भएर एकदिन सरकारी जागिर खाने संदिपको सानै देखिको सपना थियो । उनले पढाईमा राम्रो गर्न थालेपछि स्कुलका शिक्षक, शिक्षिका लगायत टोलका ठुलाबडाबाट माया र स्नेह पाउने गर्दथे । तर समयको खेल कसलाई थाहा हुन्छ र ! पढदै जाँदा जब उनी कक्षा दश अर्थात् एसएलसी परिक्षा दिन तयार हुँदै थिए, त्यही समयमा उनको घरमा ठूलो समस्या आईपर्यो । त्यतिबेला घरमा बुबा मात्र एउटा कमाउने थिए जसको कारण परिवारको दैनिक आवश्यकता पुरा गर्न धेरै समस्या हुन्थ्यो । दैनिक ज्यालादारीमा काम गर्ने उनका बुबालाई छोराहरुलाई पढाउन गाह्रो हुन थाल्यो ।

बुबाको व्यथालाई बुझेर संदिपले अब पढाई छाडेर बरु विदेश नै गएर पैसा कमाउनु पो पर्छ कि भनेर सोच्न थाले । पढेर सरकारी जागिर खाने रहर हुँदा हुँदै पनि उनले अन्त्यमा अरु केहि विकल्प नदेखेपछि विदेश जाने र्निणय गरे । उनको यो निर्णयलाई बुबाले पनि टार्न सकेनन् । त्यसपछि राम्रो पढाईलाई छाडेर उनी वैदेशिक रोजगारीको यात्रामा जुटे । त्यसपछि सबै भन्दा पहिला बुबाको सहयोगमा उनले जील्ला प्रशासन कार्यालयमा गएर आफ्नो नेपाली नागरिकता बनाए । त्यसपछि उनी राम्रो कामको खोजीमा म्यानपावर कम्पनीहरु धाउन थाले । त्यतीबेला गाउँबाट अरु यूवाहरु पनि वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । छोरालाई कुन काममा पठाउने भन्ने चिन्ता बुबालाई धेरै थियो । बुबा पनि उनको लागि राम्रो काम खोज्न एजेन्ट र म्यानपावरहरु धाउन थाले । लामो प्रयासपछि काठमाण्डौको एउटा म्यानपावरमा उनलाई विदेश जाने अवसर पायो । त्यहाँ कुराकानी गरिसकेपछि उनले विदेश जाने प्रक्रियालाई अगाडि बढाए । उनी भन्छन् ‘सुनेको थिएँ सीप बिनाको मान्छेको केहि काम छैन ।  साँच्चै रहेछ ! काम गर्ने कुनै सीप नभएपछि काम पाउन त्यती सजीलो रहेनछ । त्यसमाथि विरानो ठाउँ, विराना मान्छे ।‘ त्यसमाथि विदेश जाने तरखर गरिरहँदा उनी भरखर कक्षा दशमा अध्यननरत थिए । एसएलसी परिक्षा दिन तयारीमा जुटेका उनको मलेसियाबाट विदेशमा काम गर्नका लागि भिसा आयो । त्यति कलिलो उमेर त्यसमाथि घर छोडेर कतै नगएको अनि केहि काम गरेको, सीप सिकेको अनुभव पनि नभएको एउटा १८ वर्षको केटो सपना र डर दुवै बोकेर विदेशी रहँदाको त्यो क्षण सम्झिदा संदिप अझै पनि भावुक हुन्छन् । उनी भन्छन् ‘त्यो क्षण सम्झिदा मलाई अझैपनि लागिरहन्छ देशले युवाहरुको सीप र रोजगारीलाई प्राथमिकतामा राख्न सके १७-१८ वर्षको उर्जाहरुलाई देशमै प्रयोग गर्न अथवा लौ विदेशमै काम सिक्न पठाउने हो भने पनि सीप सिकाएर पठाउन पाए कस्तो गज्जब हुन्थ्यो होला ।‘

आफ्नो र परिवारको सुन्दर भविष्यको लागि वैदेशिक रोजगारीमा जाने निर्णय त गरियो तर पनि पढाई प्रतिको उनको मोह त्याग्न उनलाई निकै सकस पर्यो भन्छन् उनी ‘भिसा आईसकेपछि म्यानपावर कम्पनीले अफिसमा आएर सम्पर्क गर्न भने । यस्तो अवस्थामा मलाई धेरै समस्या भयो । किनकी हरेक बिधार्थीलाई शिक्षा हासिल गर्ने ठूलो चाहना र सपना हुन्छ । म्यानपावरको फोन आईसकेपछि  बुबासँग काठमाण्डौ पुगें । त्यहाँ पुगीसकेपछि म्यानपावर कम्पनीले भिसा र काम गर्न जाने कम्पनीको बारेमा जानकारी दिएपछि अन्य प्रक्रियाहरु अगाडि बढ्यो । म अझै सम्झन्छु मेरो अगाडि एसएलसी परिक्षा दिने ठूलो अवसर थियो, कम्तीमा आईरन गेट पार गरेर बाहिर जाउँला सोचेको थिएँ तर ठिक त्यही समयमा मलेसियाबाट भिसा आईदियो । घरको अवस्था र भाईहरुको भविष्यका लागि केही नसोची आफ्नो पढ्ने सपनालाई त्यागेर बाध्य भएर बिदेश जाने र्निणय गर्नु पर्यो ।’ संदिपले आफ्नो दुःखेसो पोखे ।

‘पढ्न पाउनु हरेकको अधिकार हो र राम्रो काम गर्न पाउनु पनि हरेकको अधिकार हो तर आफ्नो पढाईको स्तरको जागिर खोज्न पाएन । यो मेरो जीवनको सबै भन्दा पीडादायी क्षण थियो’ संदिपले भने । त्यो बेला गाउँमा यदि कुनै विधार्थीले कक्षा दशको परिक्षा पास गर्थ्यो भने उसले गाउँमा धेरै मान सम्मान पाउथ्यो । समाजमा उसको घरप्रति हेर्ने मानिसहरुको दृष्टीकोण नै फरक हुन्थ्यो । तर संदिपले अन्तिम घडीमा आएर यो मान सम्मानको अनुभव गर्नपाएन जुन कुराले अझैपनि संदिपलाई मनमा कहिँकतै पिरोली रहन्छ । उनलाई मात्र कहाँ हो र ! पढ्ने र खेल्ने उमेरमा छोरालाई विदेश काम गर्न पठाउँदा बुबा गजेन्द्रको मनले पनि कहाँ मानेको थियो र तर घरको अवस्था अप्ठ्यारो भएपछि उनले छोरालाई रोक्न सकेनन् र मनलाई रुवाएर भएपनि छोरालाई ब्याजमा दुई लाख रुपैयाँ ऋण लिएर विदेश पठाए । गजेन्द्र त्यो दिन सम्झेर भन्छन् ‘सायद मजस्तो कति बुबाहरुले आफ्नो घरको अवस्था सुधार्न आफ्ना छोराहरुको रहरलाई मार्नु पर्यो होला । सम्झिदा सार्है नमजा लाग्छ अझैपनि तर सायद त्यो निर्णय नलिँदो हो त अहिले हामी जहाँ छौं त्यहाँ आईपुग्न गाह्रो हुन्थ्यो होला । नत्र हामी जस्तो केहि नहुनेसँग उद्योग गर्ने कल्पना समेत पनि हुँदैन थियो होला ।‘

’आफनो संन्तानलाई पढ्ने उमेरमा विदेशमा काम गर्न जाउ भन्ने चाहना कुन अभिभावकको हुन्छ र? तर घरको आर्थिक अवस्था कमजोर भईसकेपछि र बाँकी दुई जना छोराहरुको भविष्यको बारेमा सोचेर नै छोराले विदेश जाने हट गरेपछी आफू बाध्य भएर विदेश पठाएको ‘ बुबा गजेन्द्र साह तेलीको दुःखेसो छ । मलेसिया स्थित गाडेनिया बेक्रीज कम्पनीमा संदिप नौ महिनासम्म काम गरिसकेपछि उनलाई कम्पनीले ईन्चार्जको जीम्मेवारी दियो । ईन्चार्जको जीम्मेवारी पाईसकेपछि संदिपले बेकरी समबन्धी कामलाई राम्रोसँग जान्ने र सिक्ने मौका पाए । यहि दौरान नै उनले मनमनै आफ्नो गाउँमा बेकरी उधोग खोल्ने निर्णय गरिसकेका थिए । त्यसको लागि उनलाई पुँजी र सीप दुवैको आवश्यकता पर्थ्यो । त्यो उर्जाले पनि संदिपले लगातार सात वर्षसम्म त्यही कम्पनीमा कडा मिहिनेतका काम गरे, काम सिके । सयाद परिश्रमी भएर होला विदेशमा रहँदा पनि उनलाई कम्पनीबाट मान सम्मान पाएको थियो । यस्तै उनीसँग काम गर्ने साथीहरु पनि मिलनसार र सहयोगी थिए । कामको बीचमा उनले समय-समयमा घर आउनका लागि छुट्टी पनि पाउने गरेको थियो । तर संदिपको मनमा अर्कै सपनाले बास बसिसकेको थियो । उनले छुट्टीलाई वास्ता नगरी लगातार काम गरिरहे ।  संदिप कम्पनीमा सुरुमा आठ घण्टा काम गर्थे तर पछि गएर ओभर टाईमको रुपमा पनि उनले कामलाई अगाडि बढाए । यसबाट उनले पैसा बचत गरेर घरमा पठाउन थाले । बिस्तारै -बिस्तारै घरको अवस्था बदलिदै गयो । बुबाले ब्याज सहित ऋण लिएको पैसा पनि र्फिता गरे । यसरी छोराले सात वर्षसम्म पैसा कमाएर घरमा पठाउन थाल्यो । जुन सपना बुनेर उनी आफ्नो पढाई छोडेर विदेशिएका थिए ती सपनाहरु बिस्तारै पुरा हुँदै थिए जसले उनलाई अर्को सपना बुन्न झन् हौस्याई रहेको थियो । फलस्वरूप घरको अवस्था पनि राम्रो हुँदै गयो । संदिपका दुईजना भाइको पढाईमा पनि कमी भएन । बुबाले घरलाई राम्रोसँग चलाएर आफ्नो कमाईको बचत र छोराले कमाएर पठाएको पैसाको बचत गर्न थाले । अन्ततः संदिप सात वर्षपछि वि.सं. २०७८ असोज महिनामा मलेसियाबाट घर र्फके । सात वर्षपछि संदिप आफ्नो गाउँ र्फकेर आउँदा परिवारमा खुःसीको माहोल छायो ।

लामो संघर्ष पछि छोरा घर सकुशल फर्केर आउँदा आमा, बुबा सहित पुरै परिवार खुशी थिए । मिहिनेत गर्न बाणी परिसकेका संदिप घरमा केही दिन आराम गरिसकेपछि आरामले बस्न सकेनन् । अनि उनले आफ्नो बुबासंग नयाँ व्यवसाय खोल्नका लागि प्रस्ताव गरे । उनी भन्छन् ‘सुरुमा मलाई बुबाले आफ्नै गाउँठाउँमा व्यवसाय सुरु गर्ने कुरा मन पराउँछ कि पराउँदिनन् भन्ने ठूलो चिन्ता थियो । किनकि हाम्रोमा प्राय: परिवारले विदेशबाट फर्केकालाई फेरि विदेशनै जान प्रोत्साहन गर्ने गर्छन् नि तर मेरो प्रस्ताव सुनेर बुबा खुःसी हुनुभयो । त्यसपछि घरसल्लाह सुरु भयो । लामो छलपछि आफ्नै टोल प्रसौनीमा बेकरी उधोग खोल्ने निर्णय गरियो ।‘

उधोग खोल्ने प्रक्रियामा लागिसकेपछि संदिप त्यसको कागजी र कानुनी प्रक्रिया बुझ्नमा लागे । उनी विदेशबाट घर फर्केर आईसकेपछि देशमा राजनीतिक परिर्वतनले तीन तहको सरकार गठन भईसकेको थियो । उनी बेकरी उधोग संचालन गर्नका लागि बैंकमा ऋण लिन पुगे तर कारोनाका कारण देशको स्थिति राम्रो छैन भनेर कुनै पनि बैंकहरु लगानी गर्न मानेन । यसबाट संदिप अलि दुःखीत र निराश भए तर हरेश भने खाएनन् । मनमा आशा थियो सबै कुरा राम्रो हुन्छ भन्ने । ‘उधोग संचालनको लागि बैंक, स्थानीय सरकार, विभिन्न सरकारी निकाय लगायतमा गएँ तर कहिँकतैबाट आफ्नै गाउँठाउँमा व्यवसाय गर्छु, आफ्नो सिप यहिँ लगाउछु भन्दा ऋण पाँइन । यत्रो वर्षसम्म सरकारलाई रेमिटयान्स हामीले तिर्यौं तर यही सरकारले बिदेशबाट र्फकेर आउने म जस्तो यूवाहरुलाई आफ्नै देशमा आफूले सिकेको सिपबाट केही गर्छौं भन्ने योजनालाई साथ र सहयोग नगरिदिँदा सार्है  दुःखी भएँ’ उनले भने । उनले धेरै प्रयास गरे तर कहिँकतैबाट पनि ऋण नपाउँदा अब आफ्नो सपना पूरा हुँदैन जस्तो लाग्यो तर बुबाको साथ र सहयोगले उनले एउटा आशाको किरण देखे । ‘बुबाले मलाई तिमी पैसाको चिन्ता नगर म तिम्रो लागि पैसाको व्यवस्था गरिदिन्छु भनेपछि अब जसरी भएपनि आफ्नो उद्योग संचालन गर्ने र्निणयमा आफू पुगेको’ संदिपले भने । उनले विदेशबाट कमाएर पठाएको पैसाको बचत र उनका बुबाले बचत गरेर राखेको पैसा दुवै मिलाएर उनको बुबाले उद्योग संचालन गर्नका लागी संदिपलाई शुरुमा २० लाख रुपैयाँ दिए । ‘पुगेन भने पछि अझ पैसाको व्यवस्था गर्दै जाउँला, तिमी आफ्नो काम अगाडि बढाउ’ भन्ने बुबाको प्रेरणादायी वाक्यले उनको सपना साकार बनाउन ठूलो उर्जाको काम गर्यो । त्यसपछि उनी उद्योग संचालको प्रक्रियामा लागे ।

तर पैसा हातमा भएर पनि संदिपको उद्योग संचालनमा आउन एक वर्ष लाग्यो । उनले भने ‘ उद्योग दर्ता गर्नका लागि वडा कार्यालयमा महिनौ दौडधुप गर्नुपर्यो’ त्यसपछि घरेलु तथा सानो उद्योगमा पनि लामो प्रयास गर्नुपर्यो । कहिले कर्मचारी नै कार्यालयमा नहुने, कहिले कागजपत्र नै ठिक नहुने । अन्ततः यी सब प्रक्रिया पुर्याउदा पुर्याउदै एक वर्ष लाग्यो । एक वर्षपछि वि.स. २०७९ साल माघ महिनामा फेरि दश लाख रुपैयाँ थपेर तीस लाखको लागतमा साह बेकरी उद्योग संचालनमा आयो । कारखाना संचालनमा आईसकेपछि त्यसमा बेकरी सम्बन्धि हरेक आईटमहरु उत्पादन हुन थाल्यो र अहिले पनि नियमित रुपमा उत्पादन गर्ने काम भईरहेको छ । त्यती मात्र होइन अहिले प्रसौनी टोलमा यो उद्योगले ठूलो चर्चा पाएको छ ।

संदिपका बुबा गजेन्द्र साह तेलीले खुशी हुँदै भने ‘छोराले आफूले नसोचेको काम आज पुरा गरिदिएको छ । मेरा लागि जिन्दगीमा सब भन्दा खुशीको क्षण यही हो ।‘

संदिपले संचालन गरेको साह बेकरी उद्योगमा अहिले १२ जना कामदारहरु काम गरिहेका छन् । ५ जना कारखानाको प्रोडक्सन र बाँकी ७ जना उत्पादन भएको सामग्री बजारमा बिक्री गर्नको लागि सेल्स म्यानहरु छन् । यसरी उनको उद्योगमा १२ जनाले काम पाएका छन् । ‘कुनै दिन आफ्नो छोरा विदेशमा गएर अरुको कम्पनीमा काम गर्दथ्यो र आज छोराको कारखानामा १२ जनाले काम गरिरहेका छन् , साँच्चीकै यो मेरो परिवारको लागि सोँच्न नसक्ने ठूलो उपलब्धि हो’ बुबा गजेन्द्र भन्छन् । कारखाना संचालन गरेको ७ महिना भन्दा बढि भईसकेको छ । संदिपले दिएको जानकारी अनुसार उनको कारखानामा मासिक रुपमा १० देखि १२ लाख रुपैयाँ खर्च हुने गरेको छ र सबै खर्च निकालेर मासिक रुपमा संदिपले आफ्नो कारखानाबाट दुई लाख रुपैयाँ आम्दानी गरिहेका छन् ।

अहिले कारखानाको अफ सिजन चलिरहेको हुनाले उत्पादन अलि कम भएको तर जाडोको सिजन आईसकेपछि उत्पादन बढाउने र बजारमा बिक्री बढेपछि आम्दानी पनि अझ बढेर जाने संदिप भन्छन् । अफिसमा काम गर्ने २ जना मिस्त्रीहरु बाहिरबाट आएका कारण उनीहरुको लागि खाने, बस्ने व्यवस्था समेत सन्दीपले मिलाईदिएका छन् । ‘हामी २ जना सुरुदेखि नै यो कारखानामा काम गर्दै आएका छौं, ७ महिना बितिसक्यो समयमै पारिश्रमिक र खानबस्ने राम्रो व्यवस्था छ’ कारखानामा काम गर्ने मिस्त्री मनोज कुमार र राकेश साह भन्छन् । बाँकी कामदारहरु भने स्थानीय नै छन् । कारखानामा काम गर्ने मिस्त्रीहरुलाई १५ देखी २५ हजारसम्म पारिश्रमीक दिन्छन् संदिप । उनको कारखानामा उत्पादन गरेको सामग्रीहरु प्रसौनी बजार, कलैया, फेटा, गण्डक, बिरगंज, परवानीपुर, स्थानीय होटल, खुद्रा पसल लगायतका ठाउँहरुमा बिक्रीका लागि जाने गरेको र हरेक ठाउँबाट राम्रो प्रतिक्रिया आउने गरेको छ । जाडो महिनामा उत्पादन बढिसकेपछि अरु जील्लामा पनि सामग्री पठाउने तयारी रहेको र त्यसका लागि गाडीको व्यवस्थापन गर्ने संदिपको योजना छ । यसरी गाउँमै बेकरी उद्योग संचालनमा आईसकेपछि स्थानीयहरुले ताजा खानेकुरा पाउनुका साथै रोजगारी पनि पाएका छन् । उनको व्यवसायले धेरैको गुजारा चलेपनि उनले भने यो व्यवसाय संचालन गर्नका लागि निकै संघर्ष गर्नुपर्यो । उनी भन्छन् ‘बाहिरबाट सिप सिकेर आएका म जस्ता हजारौँ यूवाहरु आफ्नै देशमा केही गरौँ भन्ने सोँच लिएर घर फर्कन्छन् तर देशको राजनीतिक अवस्था र सरकारको लाचारीपनको कारण हजारौँ यूवाहरु सिप भएर पनि केही गर्न सकेका छैनन् । यो ठूलो दु:खको कुरा हो ।‘

तसर्थ सरकारले विदेशबाट सीप सिकेर आफ्नै देशमा केही व्यवसाय गर्न चाहने युवाहरुलाई सहुलियत रुपमा ऋणको व्यवस्था गर्न र काम गर्ने वातावरण मिलाउन संदिपले तिन तहकै सरकारसँग अनुरोध गरे । हुन त सरकारले विदेशबाट सिप सिकेर आएका युवाहरुको लागि व्यवसाय गर्ने बिषयहरु बजेटमै व्यवस्था मिलाएको हुन्छ । तर यो बजेटमै सिमित भएका कारण धेरै युवाहरु फेरि विदेश फर्किने क्रम बढिरहेकै छ । त्यसैले, सरकारले घोषणा गरेका वाचाहरु समयमा पुरा गर्ने हो भने विदेश जाने ययुवाहरुको संख्यामा पक्कै कमी आउने स्थानीय सुनील साह तेलीको भनाई छ । लामो संघर्षपछि संदिपले आफ्नै गाउँठाउँमा एउटा नयाँ सुरुवात गरेकोले अरु यूवाहरु पनि संदिप जस्तै सानो भए पनि आफ्नै व्यवसाय संचालन गर्ने योजनामा रहेको यूवा प्रदिप साहको भनाई छ । अहिले नेपालमा विदेश जाने युवाहरुको संख्या दिनदिनै बढ्दै गएको छ । सन् २०२२ यता १९ महिनामा विदेश जाने युवाहरुको संख्या १३ लाख भन्दा बढि रहेको तथ्यांकले जनाउछ । तर यहि भिडको बीचमै संदिपको यो सराहनिय कार्यले एक न एक दिन विदेशीने यूवाहरुको सोँच पक्कै बदल्ने विश्वाश राख्छन् यूवा नेता सुभनारायण पटेल । जसरी विभिन्न कारणले दिनहुँ विदेशिने युवाहरुको संख्या बढिरहेको छ, ठिक अर्कोतिर संदिपको आफ्नै ठाउँमा केहि गर्ने हुटहुटिले आफ्नै देशमा पनि विदेश बराबरकै पैसा कमाउन सकिन्छ भन्ने सुन्दर सन्देश दिइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:2.903 sec. Memory consumption:70.34 mb
Send this to a friend