KALIKATIMES.COM
बिचार/अन्तरबार्ता

अनलाईन कक्षाले बालबालिकाको मनोविज्ञानमा पारेको प्रभाव

-माधुरी महताे / 

कोरोना भाईरसको संक्रमणको पहिलो लहरमा चैत महिनाको पहिलो हप्तादेखि बारा लगायत देशभरी औपचारिक शिक्षाको माध्यम करीब ८ महिना ठप्प रहयो र त्यसपछि दोश्रो लहर चलेको बेला हालपनि करीब २ महिनादेखी विधालय पुर्ण रुपमा बन्द नै छ । एकातिर कोरोना भाईरस माहामारीका कारण ज्यान जोगाउन उतिक्कै आवश्यक छ भने अर्कातिर पढाइ पनि उत्तिकै आवश्यक र महत्वपुर्ण छ । विगत केही महिनादेखी बन्द भएको शैक्षिक क्षेत्रलाई लिएर अभिभावक वर्गमा चिन्ता छाउनु स्वाभाविक नै हो । कतिपय विद्यालय, शैक्षिक संस्थाहरूले इन्टरनेटको माध्यमबाट शिक्षणलाई निरन्तरता दिने प्रयासमा देखीन्छन् जुन सबैका लागि सम्भव देखीदैन । केही विद्यार्थी त्यो पनि शहर बजारमा सीमित त्यस्ता कक्षाले ग्रामीण भेगका विधार्थीलाई छुन सकेको अवस्था छैन ।
कोरोनाले बारा जिल्लाको मात्रै नभई लाखौ–लाख बालबालिकाहरुको शिक्षामा असर पारेको छ । अझ तेश्रो लहरको जोखीमका विच मानिसहरु बाँच्न बाध्य भएका छौँ ।  यसको असरले देश र स्थानीय स्तरमा अर्थतन्त्रमा असर गरेकै छ भने शैक्षिक क्षेत्रलाई पनि यसले दुरगामी क्षती पुर्‍याइरहेकाे छ ।
यति बेला स्थानिय तहका कतिपय विद्यालयहरु क्वारेन्टाइनको रुपमा प्रयोग भएका छन् । भने परीक्षार्थीहरु बर्ष भरी पढेर अन्तमा परीक्षा दिन नपाउँदा निराश बनेको देखीन्छन् । वर्तमान अवस्थालाई हेर्दा धनीहरुका लागि मात्र अनलाइन कक्षा र गरीबका लागि अभिसाप बनेको महशुश हुन्छ । सरकारले स्थानीय तहमा शिक्षण सिकाई विधीबाट विधार्थीको पठपाठन निरन्तरता दिन भनेपनि अझ शहर र ग्रामीण भेगमा विधुत, ईन्टरनेटको पहुँचमा भएको बिभेदले अझ बालबालिकाहरु विचको भेदभावलाई उजागर गर्छ ।
तसर्थ कोरोना महामारीले निम्त्याएको लकडाउनका कारण विद्यालय खोल्ने अवस्था नभएको र घरबाटै भइरहेको भर्चुअल शिक्षामा विद्यार्थीको सहभागिता न्यून भएको, सबै विद्यार्थीसँग पहुँच नभएको र प्रभावकारी पनि हुन नसकेको भन्दै यसलाई व्यवस्थित गर्न सरोकारवालाले जोड दिन्छन् ।
 
त्यसैमा वर्षौदेखि शिक्षकहरुले चक डस्टर समातेर पढाएपनि अहिले रेडियो, टेलिभिजन, जुमबाट पढाउने काम उनीहरुकै लागि नौले महशुश भईरहेको बेला विधार्थीका लागि झनै चुनौतिपूर्ण रहेको तथा विद्यार्थी, अभिभावक र भौगोलिक अवस्था अनुसार विद्यार्थीको मनोविज्ञानमा समेत असर परेको देखीन्छ ।
 
शिक्षण सिकाईको कुनै विधी नभएका स्थानमा अभिभावक चिन्तित
 
कोरोना कहरका कारण विद्यालय बन्द भएपछि पढाइको बैकल्पिक ब्यवस्था नगरिँदा बाराका बालबालिकाहरुको दैनिकी खेलेर बित्ने गरेको अभिभावकहरुले गुनासो गरेका छन् । बारा जिल्लाको ग्रामीण भेगमा कुनैपनि पालिकाले बैकल्पिक शिक्षण सिकाइ अगाडि बढाउन नसकेको पाईएको छ ।  
 
कोरोना भाईरस संक्रमणको कहरका कारण लामो समयसम्म विधालय बन्द भएपछि शहर बजार लगायत ग्रामीण भेगका बालबालिकाहरू प्रभावित भएको तथा हाल पढाई तिर ध्यान नै जान नसेकेको अभिभावकहरुको गुनासो छ ।
 
त्यस्तै ग्रामीण भेगका आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरू भने घरपरिवारका सदस्यहरूलाई व्यापार र घरायसी, कृषि काममा सघाउँदै आएको अभिभावकहरु बताउँछन।
 
कतिपय नगरपालिका र गाउँपालिकाहरुले अहिलेसम्म वैकल्पिक शिक्षाको बारेमा छलफल समेत नगरेका पाईएको छ । बारामा मात्र नभई प्रदेश २ कै अधिकाशं जिल्लाका बिद्यालयहरुले अनलाइन कक्षा संचालन गर्न नसकेका तथा नयाँ शैक्षिक सत्र पनि स्पष्ट नभएका कारण बैकल्पिक शिक्षणको बिषयमा अलमल देखिएको शिक्षकहरुको दाबी छ ।
अनलाईन शिक्षा कति प्रभावकारी कति हानीकारक
 
यसरी बाल मनोविज्ञानलाई ख्यालै नगरी विद्यार्थीलाई अनलाइन शिक्षाका नाममा इलेक्ट्रोनिक डिभाइसमा राख्नु स्वास्थ्यका लागि हानिकारक रहेको पनि बताईन्छ । अधिकाशं विधालयहरुमा त हालसम्म बालमनोविज्ञान बुझेर पढाउने काम हुन नसकेका बेला वैकल्पिक शिक्षाका नाममा बालबालिकालाई पढाउन लगाउनु उनीहरुका लागि फाइदाभन्दा घाटा हुन सक्ने तर्फ पनि विज्ञहरुले सचेत गराएको पाइन्छ ।  
अनलाईन शिक्षामा उचित मापदण्ड नअपनाउन सक्दा बालमनोविज्ञानलाई गम्भिर असर समेत पर्न सक्ने विज्ञहरु भन्छन् । तर शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र भने लकडाउनको बेला पनि वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिन ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७’ जारी गरिएको बताएको छ । निर्देशिका अनुसार नै असार १ गतेदेखि रेडियो, टेलिभिजन, अनलाईनमार्फत पठनपाठन भइरहेको छ ।
ग्रामीण क्षेत्रका सबै विद्यार्थीका हातमा इन्टरनेट चल्ने मोबाइल नभएको तथा आर्थिक अवस्था न्युन भएको कारण दुई छाक टार्न धौ धौ परीरहेको बेला ईन्टरनेट सहितको मोबाईलको व्यवस्था गर्न त्यस्ता परिवारका लागि मुस्किल मात्रै होईन असम्भव छ । यसका कारण त्यस्ता बालबालिका विधार्थी मात्र होईन अभिभावकको मनोविज्ञानमा समेत असर परेको छ । इन्टरनेटको पहुँच नभएका कारणले नै विद्यार्थीहरूले पढाइमा सहभागी हुन नपाउँदा उनीहरु निराश बन्छन् र पढाई छोड्न समेत बाध्य हुने गरेका छन् ।
यता शहरमा अनलाईन मार्फत जोडीने विधार्थीहरुलाई भने आफ्नै समस्या र पीडा छ । अनलाईनमा जोडीएकाहरुको प्रत्येक घरमा एक बच्चा नै छन् भन्ने हुँदैन । यदी घरमा २ वा सो भन्दा बढी बालबालिका भए एउटा मोवाईल वा ल्यापटपले धान्न नसकिने अवस्था हुँदा शहरमा समेत बालबालिकाको शिक्षण सिकाईमा विजोग देखीन्छ । त्यसमा पनि इन्टरनेट बेला बेला अवरुद्ध हुँदा बालबालिकाहरुको शिक्षण अवधिको विचमै कनेक्सन टुटेपछि त्यसपछि केही नबुझिने अवस्थाले खासै राम्रो प्रभाव परेको देखीदैन । जसका कारण बालबालिकाहरु रिसाउने, टोलाउने, चिन्ता लिने लगायतका समस्याहरु द्येखा पर्ने गरेको मनोवैज्ञानिक बताउँछन् ।
तर हालको अवस्थामा बैकल्पीक शिक्षण सिकाई विधी बाहेक कुनै विकल्पले काम नगर्ने कुरा पनि सत्य नै हो ।
तसर्थ अनलाईन कक्षालाई प्रभावकारी बनाउन सके सबै किसिमको अवस्थाका बालबालिकाहरुलाई विभेद रहीत समान पहुँचमा शिक्षण सिकाई विधीबाट पढाउन सक्दा केही नहुनु भन्दा केही हुनु नै बेश भने झै केही हदसम्म सकारात्मक सावित हुने देखीन्छ ।  
 
यसका लागि के गर्न आवश्यक
 
यसका लागि सबै भन्दा पहिले संघ, प्रदेश र स्थानीय सरकार लगायत सम्बन्धित सरोकारका निकायका बिचमा समन्वय गरेर निःशुल्क इन्टरनेट सुविधा शहर देखी गाउँगाउँसम्म पुर्याउने योजनाका साथ अगाडी बढ्न आवश्यक देखीन्छ भने नियमित विद्युत आपूर्तिका लागि पनि समन्वय गर्न आवश्यक छ ।
पहुँच वा मोबाइल डाटा दुवै अवस्था नहुनेका विषयमा विशेष ध्यान दिएर मात्र औपचारिक रूपमा यो अनलाइन शिक्षा कार्यक्रम सञ्चालन गर्न सकिन्छ वा इन्टरनेटको सुविधा नभएको क्षेत्रमा रेडियो, टेलिभिजन मार्फत पढाउन सकिन्छ की । बालबालिकाले मोबाइल, सामाजिक संजाल वा ईन्टरनेट चलाउँदा अभिभावकले निगरानी राख्न पनि उतिक्कै आवश्यक हुन्छ ।
 
अन्त्यमा अनलाईन कक्षा भनेको विद्यार्थी–शिक्षकबीच पठनपाठनबारे दोहोरो छलफल हुनु हो । यसरी अडियो भिडियो दुवैमा विद्यार्थी–शिक्षकबीच अन्तरक्रिया गरी पठनपाठन गर्न भने अनलाइन शिक्षण नै चाहिने हुँदा शिक्षण सिकाईको परिपाटीमा समय अनुसार परिवर्तन गर्न सकिन्छ । र हरेक अभिभावक र विद्यालयले यसतर्फ सोच्न जरुरी देखीन्छ ।
 
त्यसैले विधार्थीको मनोविज्ञानमा असर नपर्ने गरी विद्यार्थीको वर्गीकरण  सहितको अनलाइन शिक्षणका लागि योजना बनाएर बिस्तारै ‘पाइलट प्रोजेक्ट’का रुपमा सञ्चालन गर्दा राम्रो हुने धेरैको भनाई छ ।
 
बारा जिल्लामा बालबालिकाको अनलाईन शिक्षाको अवस्था र व्यवस्थाबारे जिल्ला समन्वय समिति मार्फत शिक्षाको लागि राष्ट्रिय अभियान अन्तगर्त लेखीएको लेख हो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नयाँ युगको दुई बर्ष र धारा ३७० को खारेजीले सबै उत्साहित

कालिका टाईम्स

बढदो प्रहार र खुम्चिएको दलित आन्दोलन

कालिका टाईम्स

जातिय उत्पीडन समग्र नेपाली समाजको एक सझा समस्या

कालिका टाईम्स
Comments
Share via
SQL requests:210. Generation time:3.290 sec. Memory consumption:21.29 mb
Send this to a friend